५ श्रावण २०८२, सोमबार
Follow Us

सर्वोच्चको फैसलाले राजनीतिक जटिलता थपियो: गगन थापा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार २०:२८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा नामबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक जटिलता थपेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा बैठकपछि आइतबार सांसद थापाले नेकपा नामसम्बन्धि सर्वोच्च अदालतले मागेभन्दा बढी विषयमा फैसला गरेकाले राजनीतिक जटिलता थपेको बताएका हुन् ।

नेकपाबाट निर्वाचित सांसद र सभामुखलगायतका बारेमा जटिलता ल्याएको थापको भनाइ थियो । सभामुख अग्निप्रसाद सापकोटा साबिकको नेकपाबाट निर्वाचित भएका थिए । ‘आजको अदलतको फैसलापछि प्रधानमन्त्रीले विश्वासमको मत लिनैपर्‍यो । बाहिर जसरी कुरा आइरहेको छ कि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले र माओवादी केन्द्र बने, कुरा यत्तिमै टुंगिन्न,’ सर्वोच्च अदालतको फैसलाले पार्ने प्रभावतर्फ संकेत गर्दै सांसद थापाले थपे, ‘सम्मानित अदालतले भनिदिनुपर्‍यो सभामुखलाई के गर्ने त हामीले ?

सभामुख र उपसभामुख फरक-फरक दलको भन्ने संवैधानिक व्यवस्था रहेको र अहिलेका सभामुख नेकपाबाट निर्वाचित भएको भन्दै थापाले अब सभामुखलाई कुन पार्टीको मान्ने भनेर प्रश्न उठाएका हुन् । ‘यत्रो धेरै सांसद निर्वाचित भएर आउनुभएको छ त्यो कुन पार्टीको मान्ने ?,’ उनले थपे । प्रतिनिधिसभाको उपचुनाव, राष्ट्रिय सभा चुनाव र प्रदेश सभाहरूका उपचुनावबाट नेकपाबाट निर्वाचित भएर आएकाहरूलाई के गर्ने भन्ने प्रश्न उठेको उनको भनाइ थियो ।

प्रथम दृष्टिमा हेर्दै गर्दा अदालतले माग्दै नमागेको कुरामा फैसला गरेको उनको भनाइ थियो । नामसम्बन्धि विवादको मुद्दामा एकीकरणको बारेमा नै फैसला गरेको भन्दै त्यसले जटिलता थप्ने उनले बताए । ‘एउटा राजनीतिक दलको नामसम्बन्धि विवादमा दलको एकीकरणका सम्बन्धमा जुन फैसला आएको छ त्यसले जटिलता थप्दै जाने भयो ,’ उनले भने ।

अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने थापाको माग थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले अझै त्यो नगरेको भन्दै थापाले भने, ‘कांग्रेसको माग प्रधानमन्त्रीको राजीनामा गर्नुपर्छ भन्ने हो । राजीनामा नगरेपछि विश्वासको मत लिनुपर्छ ।’

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको विवादबारे आइतबार फैसला सुनाएको थियो । नेकपा पार्टीको नाम ऋषि कट्टेललाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिने फैसलामा उल्लेख छ ।

धेरै पढिएको