१६ असार २०८१, शनिबार
Follow Us

माधव नेपाल पक्षले ओली पक्षलाई भन्यो- ‘पुस २८ को निर्णय मान्दैनौं’

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७७, सोमबार ०९:५४

काठमाडौं । नेकपा एमालेको दुई समूहबीच छलफल भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तामा नेकपाभित्र देखिएको पछिल्लो विवादमा केन्द्रित भएर छलफल भएको छ । छलफलमा माधव नेपाल समूहले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय नमान्ने बताउँदै उक्त निर्णय खारेज गर्न माग गरेको नेता भीम रावलले जानकारी दिए । तर अध्यक्ष ओली त्यसमा सहमत भएका छैनन् ।

गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए । छलफलमा सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ को स्थितिमा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेपाल समूहका नेताहरुले बताएका छन् ।

नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्को बैठकको मिति निश्चित गरिएको छैन । त्यस्तै छलफलमा ओली पक्षले माधव नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ । राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरिएको ओली पक्षका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पुस पाँच गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा जुटेका हुन् ।