१८ असार २०८१, सोमबार
Follow Us

मुख्यमन्त्री राईको पद तत्कालका लागि जोगियो

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७७, बुधबार ०८:१७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद तत्कालका लागि जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल समूह अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि तत्कालका लागि राईको संकट टरेको हो । एक नम्बर प्रदेशको एमाले संसदीय दलको बुधबार बसेको बैठकपछि नेपाल समूहका प्रदेशसभा सदस्यहरु अविश्वास प्रस्ताव लिन सहमत भएका थिए ।

नेपाल समुहका प्रदेश सभा सदस्य जीवन घिमिरेले अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको जानकारी दिए । यद्यपी छोटो समयको अवधि राखेर बैठक बोलाइएकाले बैठकमा सहभागी भने हुन नसकेको उनले बताए ।

बुधबारका लागि बोलाइएको बैठकका लागि प्रदेश सदस्यहरुलाई मंगलबार मात्र एसएमस गरिएको थियो । घिमिरेले अविश्वास प्रस्ताव फिर्ताको जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको जानकारी पनि दिए ।

बैठकले एक साताभित्र अविश्वास प्रस्ताव फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएको छ । बैठकमा मुख्य मन्त्री शेरधन राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका थिए । प्रदेश १ सभामा एमालेका ५१ सांसद छन् ।