१८ असार २०८१, सोमबार
Follow Us

भारतले कोरोनाविरुद्धको खोपको निर्यात रोक्यो

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ०६:०२

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो ।

भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को मृत्यु भएको छ । भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ ।

भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा एस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारत सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम शुरु गरेको थियो । अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ । सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् ।