प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।
‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु’ । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।
केही अनलाइन र सामाजिक सञ्जालमा ओली र ‘रअ’ का प्रमुख सामन्त गोयलबीच सीमालगायतका विषयमा ४ बुँदे सहमति भएको दावीसहितको समाचार आएपछि प्रधानमन्त्रीको सल्लाहकारबाट यस्तो धारणा आएको हो ।