२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिकाले कोरोना पिडितको लागि २५ हजार डलर सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७८, शुक्रबार १०:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा पछिल्लो समय बढ्दै गएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तत्कालै २५ हजार डलर सहयोग गर्ने भएको छ ।

संघको बुधबार बसेको आकस्मिक बैठकले अन्तराष्ट्रिय समन्वय परिषद्संगको सहकार्यमा आइसिसीमार्फत तत्काल २५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने र मानवीय कार्यमा अझ बढी सहयोग पुरÞ्याउनका लागि तत्कालै गो फन्ड मी मा अकाउण्ट बनाएर थप सहयोग रकम संकलन गर्ने तथा त्यसका लागि च्याप्टर समितिहरुलाई समेत परिचालन गर्ने निर्णय समेत गरेको छ ।

‘कोभिड १९ को कहरले हाल नेपालमा बिकराल स्थिति बन्दै गएको बिषयमा अमेरिकामा बस्नुहुने गैर आवासीय नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरीका स्थित बिभिन्न सामाजिक संघ संस्थाहरूसग समन्वय गरी अमेरीकन संघिय तथा राष्ट्रिय सरकार र नेपाली राजदूतावासलाई पत्राचार गरी नेपालमा तत्कालै सहयोगको लागी अपिल गर्ने निर्णय गरियो ।’ बैठकको निर्णय पछि जारी गरिएको सूचनामा भनिएको छ ।

त्यस्तै नेपाल र नेपालीसंग सम्बन्धित अमेरीकामा भएका बिभिन्न स्थानिय तथा राष्ट्रियस्तरका गैरनाफामूलक सामाजिक संस्थाहरूसंगको सहकार्यलाई जोड दिंदै सामुहिक सहयोगको लागि पहल गर्ने निर्णय समेत बैठकले गरेको संघका महासचिव पशुपति पाण्डेले बताएका छन् ।