२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७८, बिहीबार २०:३८

लण्डन। एनआरएनए यूकेको निर्वाचन नजिकिँदै जाँदा बेलायतस्थित नेपाली समुदायका एक सक्रिय युवा अभियन्ता राजन खकुराल पनि चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी जुलाई ३१ मा तय एनआरएनए यूके निर्वाचनमा खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको उनी बताउंछन् ।

‘विगतमा कार्यसमितिभित्र रहँदा मात्रै नभइ बाहिरबाट पनि मैले आफूलाई यो अभियानमा उत्तिकै सक्रिय राख्ने कोशिश् गर्दै आएं । यसपटक भित्रै बसेर आफूले सक्दो योगदान गर्ने अठोटसहित आएको छु ।सबैको साथ र हौसला अपेक्षा राखेको छु’, उनले भने ।

एनआरएनए यूकेमा हाल सल्लाहकार रहेका खकुरालले विगतमा योगकुमार फगामी नेतृत्वको कार्यसमितिमा सदस्यका रुपमा काम गरेका थिए । कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका उनले संस्थाको च्यारिटी दर्ताको लागि आवश्यक कोष संकलनको संयोजन समेत गरेका थिए ।सोही अभियानमा उनले देखाएको कुशल संयोजनकारी भूमिकाले एनआरएनए यूके वृत्तमा उनलाई सक्षम पात्रका रुपमा धेरैले ‘नोटिस’ गरेका थिए ।

उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खकुरालले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन्, न त चुनावको मुखमा पूरा गर्न असम्भव ‘बिकाउ’ एजेन्डाहरु नै बांड्ने मनसायमा छन् । ‘ ठूला-ठूला कुरा गर्ने तर काम देखाउन नसक्ने प्रवृत्ति हाम्रो पुरानो समस्या हो । जसबाट हाम्रै एनआरएनए यूके पनि अछुतो छैन’, खकुराल भन्छन्, ‘संस्थाको पद त केवल प्लेटफर्म हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’

खकुराल यसअघि एनआरएनए युवा संयोजक र आइसीसी सदस्यका पदमा पनि चुनावी मैदानमा उत्रिएका थिए । एनआरएनए आइसीसीमा समेत आफ्नो पहुंच बनाउन सफल उनी आइसीसीको कोष परिचालन विभागमा सचिव छन् । अप्रिल २०२० मा उनकै संयोजनमा धादिङबेसीस्थित जिल्ला अस्पताललाई आइसीसीमार्फत् करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गरिएको थियो ।

कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । अन्तरराष्ट्रिय धादिङ समाजका प्रवक्ता खकुरेल बुद्ध फाउन्डेसन यूकेमा कोषाध्यक्ष र नेप्लिज् युथ एशोसिएसन यूकेमा उपाध्यक्ष छन् ।

खकुरालले संस्थागत र व्यक्तिगत रुपमा समेत थुप्रै च्यारिटी प्रोजेक्टहरु सफलतापूर्वक लिड गरेका छन् । सन् २०१५ मा ब्लड क्यान्सरपीडित हेमन्तकुमारी थापालाई साढे दुई लाख उपचार खर्च जुटाइदिएका उनले सन् २०१५ मा महाभूकम्पको बेला बेलायतबाट डेढ लाख सहयोग पठाउन सहसंयोजकको भूमिका खेलेका थिए । खकुरालले सन् २०१६ स्पाइनल कर्ड इन्जुरीको उपचारका लागि रमेश मिजारलाई डेढ लाख सहयोग जुटाउने कार्यको पनि संयोजन गरेका थिए ।

स्थापना काल देखि बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष रहेका खकुरालको अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले २०१७ यता करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको छ । हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरालको अग्रिम भूमिका (आर्थिक संयोजक) रहिआएको छ ।

लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरालको भूमिका कम रहेन ।

धादिङ घर भएका खकुराल २०१० मा बेलायत आउनुअघि काठमाडौं विश्वविधालयबाट ‘जेनेरल मेडिसिन’ पूरा गरेका थिए । अहिले उनी बेलायतको फार्मेसी तथा हेल्थ एन्ड ब्यूटी रिटेलर कम्पनी ’बुट्स’ मा फार्मेसी असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।