२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूके निर्वाचनः अध्यक्षमा को कति बलियो ?

नेपालब्रिटेन डट कम्
२ असार २०७८, बुधबार ०४:१२


कूल सदस्य संख्या ११,६४२ उम्मेदवारको दावी जोड्दा १५,८००

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्वाचनमा सदस्यताका लागि आवेदन दिने म्याद मंगलबार साँझ सकियो । एनआरएनए यूकेका अनुसार हालसम्म ११ हजार ६ सय ४१ जनाले सदस्यताका लागि आवेदन दिएका छन् ।

ती मध्ये ७ हजार ८ सय १५ जनाको प्रमाणिकरण सकिएको छ भने ३ हजार ६ सय ६१ जनाको प्रमाणिकरण हुन बाँकी छ । १ सय ६१ जनाको आवेदन पेन्डिङमा छ भने २ हजार ८ सय २ जनाको आवेदन डाफ्टमा छ ।

एनआरएनए यूकेमा नयाँ नेतृत्वका लागि संघका उपाध्यक्षद्वय रोजिना प्रधान राई, प्रेम गाहामगर र इंल्यान्ड राज्यपरिषदका अध्यक्ष दिपक श्रेष्ठले दावी प्रस्तुत गरेका छन् । अध्यक्ष पदका दावेदार मध्ये एक प्रेम गाहामगरले आफूले चुनाव जित्नेमा ढुक्क रहेको नेपाल ब्रिटेन डट कमलाई बताए । उनले हालसम्म प्राप्त पञ्जिकृत सदस्यमध्ये ६ हजार ५ सय ४७ जना सदस्यताको आवेदन आफ्नो पक्षले दिएको दावी गरे । गाहामगरले स्कटल्याण्ड र वेल्सको सदस्यताको विवरण आउँन बाँकी रहेको जानकारी समेत दिए ।

यस्तै संघको नेतृत्वको दौडमा रहेकी रोजिना प्रधान राईले आफूलाई संस्थापन पक्षको पूर्ण सहयोग रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछिन् । राईले सोमवार साँझसम्म प्राप्त सदस्यहरुको संख्याबाट उत्साहित भएको बताइन् । उनले आफ्नो सदस्यता वितरण अभियानबाट मात्र करिब ५ हजारजनाले सदस्यताको लागि आवेदन दिएको जिकिर गरिन् ।

संघको इंल्याण्ड राज्यपरिषदका सदस्य तथा अध्यक्षका दावेदार दिपक श्रेष्ठले आफ्नो पक्षले ठूलो संख्यामा सदस्यता ल्याउन सफल भएको दावी गरे । उनले स्वीन्डन, ह्यारो, अल्डरशटलगायत क्षेत्रको तथ्यांक प्राप्त भइनसकेको भएता पनि करिब ४ हजार ३ सय जनाको सदस्यता आफ्नो पक्षले ल्याएको दावी गरे । तीनै जना उम्मेदवारको दावी जोड्दा जम्मा सदस्य संख्या १५ हजार ८ सय पुग्छ ।

जातीय मतदाता निर्णायक, कति छ संख्या ?
एनआरएनए यूकेको निर्वाचनमा जातीय समीकरणले ठूलै प्रभाव पारेको विगत जगजाहेर छ । अघिल्लो निर्वाचनमा वर्तमान अध्यक्ष पुनम गुरुङ उम्मेदवार हुँदा करिब ५ हजारभन्दा बढी गुरुङ समुदाय सदस्य रहेकामा यसपटक त्यो संख्या घटेर १ हजार ९ सयमा सीमित भएको अनुमान छ । संघको पछिल्लो तथ्यांक अनुसार किरात (राई लिम्बु), १७ सय नेवार ७ सय, मगर २१ सय, शेर्पा-तामाङ आदि ३ सय र ब्राह्मण–क्षेत्री करिब हजार जना रहेको अनुमान छ ।

राजनीतिक दलको प्रभाव न्युन
एनआरएनए यूकेको निर्वाचनमा दलिय प्रभाव निकै न्युन हुने गरेको छ । गत निर्वाचनमा नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिसहित सबै बामपन्थी समूहको समर्थन प्राप्त गरेको दावी गरेका शेरबहादुर सुनार निर्वाचनमा पराजय भएका थिए । संघको निर्वाचनमा मुख्य साँचो भनेकै जातीय संघसंस्था भएको जानकारहरु बताउँछन् ।

अध्यक्ष पदको लागि दावेदार मध्येका तीनै जना लोकतान्त्रिक खेमाका भएको चर्चा गरिन्छ । बामपन्थी समूहले भने अध्यक्षमा आफ्नो दावेदारी समेत प्रस्तुत गर्न सकेको छैन् । बेलायतमा रहेका राजनीतिक दलका शुभेच्छुक र भातृसंस्थाहरुले एनआरएनए यूकेको अध्यक्षमा कस्लाई समर्थन गर्छन भन्ने अहिलेसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । यसले पनि एनआरएनएको निर्वाचनमा राजनीतिक दलको प्रभाव छैन भन्ने पुष्टि गर्छ ।