१० जेष्ठ २०८१, बिहीबार
Follow Us

असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप लगाइने

नेपालब्रिटेन संवाददाता
११ असार २०७८, शुक्रबार १२:३३

काठमाडौं । चीनले दोस्रोपटक उपलब्ध गराएको कोराेना भाइरसविरुद्धको0 ‘भेरोसेल’ खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी दिएका हुन् ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । शाखा प्रमुख डा. गौतमका अनुसार पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको छ । अघिल्ला खोप अभियानमा भेरोसेल खोपको ‘बुस्टर डोज’ अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने गौतमले जानकारी दिए ।

“यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहका व्यक्तिले दोस्रो मात्रा खोप लाउन पाउनेछन्, तर, त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ,” डा.गौतमले भने । पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३ सय ६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३ सय ९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको गौतमले जानकारी दिए ।