२६ बैशाख २०८१, बुधबार
Follow Us

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

नेपालब्रिटेन संवाददाता
१८ असार २०७८, शुक्रबार ०५:३९

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । तर एमालेको संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ट नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ ।

खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली अवैध भएको निश्कर्ष निकालेको हो ।

पार्टी एकताका लागि खनाल–नेपाल पक्षले ओली पक्षलाई पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन ६ बुँदे प्रस्ताव अघि सारेको थियो ।

तर अध्यक्ष ओलीले पार्टी विधान विपरित गठित दशौं महाधिवेशन आयोजक कमिटिको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याएकोले बैठकमा सहभागि नहुने निर्णय भएको नेता भिम रावलले बताए ।

पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने खनाल–नेपाल पक्षको भनाइ छ । यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन हिजो बिहान र साँझ दुई पटक नेताहरुबिच छलफल भएको थियो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा असन्तुष्ट पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी थिए ।

हिजोको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका छन् ।