२७ बैशाख २०८१, बिहीबार
Follow Us

माधवलाई फकाउन पौडेल, पोखरेल र नेम्वाङ कोटेश्वरमा

नेपालब्रिटेन संवाददाता
२० असार २०७८, आईतवार ०६:४३

काठमाडौं । नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरु माधव नेपाललाई मनाउन उहाँकै निवास कोटेश्वर पुगेका छन् । केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।

यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसक्नुभएको छ ।

एमाले बैठकले माधव नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट नेताहरुले नेपाललाई भेटेका हुन् । समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट बिष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् ।

वार्तामा प्रदीप ज्ञवाली र बिष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् । त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् ।