२७ बैशाख २०८१, बिहीबार
Follow Us

टुङ्गिएन कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपालब्रिटेन संवाददाता
२० असार २०७८, आईतवार ०६:५१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई बुझाउनुपर्ने थियो ।

तर छानबिन समितिले अहिलेसम्म ३० जिल्लाको सदस्यता विवाद समाधान गरेर अन्तिम रुप दिएको छ । बाँकी ४७ जिल्लाबारे निर्णय लिनै बाँकी छ । त्यसमध्ये कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील वितरणको काम जारी नै छ ।

सदस्यता छानबिन समितिले गौशालास्थित नेपाल–भारत मैत्री भवनमा बसेर काम गरिरहेको छ । कार्यतालिका अनुसार आज क्रियाशील सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउन सक्ने अवस्था नरहेको समितिका सदस्यहरुले बताएका छन् ।

विवाद समाधानको विधि र मापदण्डबारे पदाधिकारी बैठकले नै ढिलो गरी निर्णय गरेकोले केही समय लाग्ने देखिने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय समितिको २०७७ फागुन ६ गतेको बैठकले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो ।

महाधिवेशन कार्यतालिका अनुसार आज छानबिन समितिले केन्द्रीय समितिलाई, असार ३० भित्र केन्द्रीय समितिले निर्वाचन समितिलाई सदस्यता बुझाउनुपर्नेछ ।