२७ बैशाख २०८१, बिहीबार
Follow Us

बागमती प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित

नेपालब्रिटेन संवाददाता
२१ असार २०७८, सोमबार १२:३०

काठमाडौ । बागमती प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले बैठक अगाडि बढाउने क्रममा प्रतिपक्षी दलहरुले रोष्टमबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेललाई बोल्न समय दिएका थिए ।

जम्कट्टेलले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताए ।

सभामुखले बस्नका लागि पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलले उठेर बिरोध जनाएपछि बैठक अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरिएको हो । सरकारले पार्टी र गुटगत रुपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरुले प्रदेशसभामा लगातार विरोध गर्दै आएका छन् ।