२७ बैशाख २०८१, बिहीबार
Follow Us

पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियर सहित २ जना वेपत्ता

नेपालब्रिटेन संवाददाता
२३ असार २०७८, बुधबार ०५:२०

पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार २ जना वेपत्ता भएका छन् ।

मंगलबार रातिको भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी राजमार्गमा क्षति पुर्‍याएको थियो । बाढीले मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इञ्चार्ज राजाराम आचार्य र सवारी चालक इन्द्र थारु बेपत्ता भएका हुन् ।

बाढी कै कारण राजमार्गको छेउछाउमा सामान्य व्यवसाय सञ्चालन गरेर बस्ने विश्व श्रेष्ठ लगायतका ४ परिवार भागेर ज्यान जोगाउन सफल भएका छन् । बाढीले बगाएको सवारी आज बिहान मात्रै ५ सय मिटर तल मोदीखोलामा भेटिएको छ ।

गाडी भेटिएपनि उद्धार गर्न नसकिएका कारण गाडीभित्र रहेका व्यक्तिहरु भए नभएको कुनै जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

बाढीले अन्य २ स्कुटर, १ मोटरसाइकल सहित ४ होटल तथा रेष्टुरेण्टहरुमा क्षति पुर्‍याएको छ । सो सँगै मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प रहेको छ ।

तत्काल खुल्ने सम्भावना नभएको र सवारी आवागमन बन्दहरु विरामी, विबाहका लागि हिडेका सवारीहरु र अन्य अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।

सोही बाढीले १० मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला जलविद्युत केन्द्रको उत्पादन समेत बन्द भएको छ । उत्पादनका लागि निर्माण गरिएको क्यानल बाढीले पुरेपछि विद्युत उत्पादन बन्द भएको हो ।