२६ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेसका ५० हजार कार्यकर्ताले गरेनन् क्रियाशिल सदस्यता नविकरण

नेपालब्रिटेन संवाददाता
२४ असार २०७८, बिहीबार १३:२७

काठमाडौ । नेपाली कांग्रेसका ५० हजार कार्यकर्ताले आफ्नो क्रियाशिल सदस्यता नविकरण गरेका छैनन । पाँच वर्षअघि १३ औँ महाधिवेशनमा क्रियाशिल रहेका ५० हजार कार्यकर्ताले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन् । यति ठूलो संख्यामा क्रियाशील सदस्यता नविकरण नभएपछि क्रियाशील सदस्यता छानविन समितिले खोजी थालेको छ ।

भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ । कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य चार लाख ७० हजार थिए । तर यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेका छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए ।

क्रियाशिल नविकरण नहुनुको कारण मृत्यु, विदेश गएको र बाँकी धेरैमा पार्टीप्रतिको आकर्षण नभएको हुन सक्ने अनुमान गरिएको छ । कांग्रेस कार्यकर्ताले सदस्यता नवीकरण नगर्नु समीक्षा र खोजीको विषय बनेको पौडेलले बताए ।

देशभरका ५ सयभन्दा बढि वडामा देखिएको विवाद मध्ये दुईसय वडाको विवाद समाधान भएको समितिले जनाएको छ । ६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशिल वितरण सच्याउन माग गर्दै उजुरी दर्ता भएका छन् । समितिले समाधान निकाल्नै नसक्ने खालका उजुरी रहेको खण्डमा त्यसलाई शीर्ष नेताहरुको जिम्मेवारीमा दिइने भएको छ ।

शीर्ष तहमा पनि सहमति जुट्न नसके ती स्थानमा पुरानै प्रतिनिधि कायम गरी महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ । त्यस्तै समितिले सहमतिमा मात्रै निर्णय गर्ने भएको छ । बहुमतको आधारमा निर्णय गर्ने अधिकार समितिलाई छैन ।