लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको युवा संयोजक पदमा युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) ले उम्मेदवारी दर्ता गराएका छन् ।
जुलाईको ३१ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका उनले सो पदमा उम्मेद्वारी दर्ता गरेका हुन् ।
‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिलले भन्छन् ।
कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।
उनी हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् ।
युवाहरुको माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग केही भिजन र कार्ययोजना छन् ।
बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसंग छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।