२६ पुष २०८२, शनिबार
Follow Us

तनहुँमा कांग्रेसको वडा अधिवेशन : पौडेलसँगै देउवा, प्रदीप पौडेल, जोशीको छुट्टाछुट्टै गुट

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७८, सोमबार ०१:१०

तनहुँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँमा शुक्रबारदेखी सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन । आइतबारसम्म ८४ वटा वडामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस तनहुँका जिल्ला कमिटी सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनका अनुसार ६९ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । १५ वटा वडामा भने निर्वाचनबाट नेतृत्व छानिएको छ ।

शुक्रबार र शनिबार जिल्लामा अधिवेशनको सरगर्मी चढेको थियो । अहिलेसम्म अधिवेशन सकिएका ८४ वटा वडामध्ये चारवटा वडाले मात्र महिला सभापति पाएका छन् ।

घिरिङ गाउँपालिका- १ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको बाँस्तोलाले जानकारी दिए । शुक्रबार स्थगित भएको शुक्लागण्डकी नगरपालिका- ८ मा भने अधिवेशन हुन बाँकी छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको क्रियाशील सदस्यता रहेको वडामा विवाद सिर्जना हुँदा अधिवेशन हुन नसकेको हो ।

उक्त वडामा छिट्टै अधिवेशन सम्पन्न गर्ने बाँस्तोलाले बताए । ‘अधिवेशन गर्नलाई सहमति भएको छ । भोलि-पर्सिभित्रै अधिवेशन हुनेछ’, उनले भने । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया सुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो ।

वडा सभापतिबाट पछि हटेका ऋषिराम महतले आफ्नो पक्षका १४ जना प्रतिनिधि नराख्ने भएपछि निर्वाचन सामग्री जफत गरेका थिए । महत पछाडि हट्दा पौडेल पक्षका विपेन्द्र सेन ठकुरी सभापतिका एक्ला उम्मेदवार थिए । तर, अन्य पदमा विवाद भएको हो । गृहमन्त्री बालकृष्ण खाणको ठाडो निर्देशनमा निर्वाचन सामग्री जफत भएको पौडेल पक्षका नेताहरू बताउँछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा कांग्रेसको गुटगत राजनीति हाबी छ । पौडेलसँगै संस्थापन शेरबहादुर देउवा, युवा नेता प्रदीप पौडेल, पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको छुट्टाछुट्टै गुट छ । वडा अधिवेशनमा जोशीले आफू पक्षका नेता कार्यकर्तालाई सहभागी नहुन अनुरोध गरेका थिए ।

धेरै पढिएको