ताजा खबर

पावर, पैसा र पोलिटिक्सको प्रभावले चुनावमा ठेस लाग्यो : एनआरएनए, महासचिव डा. हेम राज शर्मा

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संस्थाको निर्वाचन प्रकृयामा पावर, पैसा, पोलिटिक्स (थ्री पी) को प्रभाव परेको बताएका छन् ।

शर्माले बुधवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाईन मार्फत ‘एनआरएनलाई थ्रीपी (पावर, पैसा, पोलिटिक्स र सिमित व्यक्तिको चङ्गुलबाट निकालेर लाखौँ गैरआवासीय नेपालीहरुको साझा संगठन बनाउने अभियानमा अहिले ठेस लागेको’ बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रत्येक निर्वाचनमा हाम्रो घाँटीमा तरबार राखेर भनिन्छ – कि मान नभए एनआरएनए फुटाउँछौ । अहिले घाँटीमा तरबार मात्र राखिएन, आधा घाँटी रेटियो, पेटमा छुरा रोपियो ।’

उनले विश्वमै पहिलो पटक फेस भेरिफिकेसन मार्फत आफ्नै घरबाट मतदान गर्न अन्तिम तयारीमा रहेको बेला चुनाव रोकिएकोमा दुःख व्यक्त गरे ।

‘कसैको प्रभावमा नपरी नेतृत्व चयन गर्ने अवसर प्रतिनिधिहरुलाई मिलेको थियो तर अहिलेलाई यो प्रकृया स्थगन भएको छ’ शर्माले बताए ।

शर्माले प्रतिनिधिहरुको सम्पूर्ण अधिकार भने अझै नखोसिएको दावी गरेका छन् । शर्माले भने ‘बन्द कोठामा भएका सहमती स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार अझै पनि प्रतिनिधिहरुको हातमा छ । महाधिवेशनमा उपस्थित भएर सशक्त रुपमा आफ्ना अभिव्यक्ति राख्न अनुरोध गर्दछु ।’

आफ्नो कार्यकालमा शुरु गरिएको रूपान्तरको अभियानलाई जीवन्त र पूर्णता दिन हुलमुल भित्र जाने वा बाहिरबाटै सहयोग गर्ने भन्नेमा दोसाँधमा उभिएको शर्माले बताए ।

गैरआवासीय नेपाली संघको सन् २०१९ मा सम्पन्न संघको निर्वाचनबाट महासचिवको बागडोर समालेका शर्माले संघभित्र संस्थागत पुर्नरसंरचनालाई मुख्य अजेण्डाको रुपमा ल्याएका थिए । उनकै सकृयतामा प्रतिनिधि दर्ता निशुल्क, एमआइएस प्रणाली, स्मार्ट एनआरएनए, डिजिटल परिचयपत्र, विधान संसोधन, आर्थिक सुधार लगायतका महत्वपूर्ण काम भएका थिए । शर्माले संघको आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गरेका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्