लन्डन । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ । बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । जितसंगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।
आर्सनलको विजयी सुरुवात
आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २–१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । स्विट्जरल्याण्डको जुरिचमा गएराति भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन मार्कीनोज र एड्डी एन्केतियाले एक एक गोल गरे । जुरिचका मिर्लीन्ड क्राइजुले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा मार्कीनोजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मिर्लीन्डले पेनाल्टीबाट गोल गर्दै जुरिचलाई १–१ को बराबरीमा ल्याए । तर, ६२ औं मिनेटमा एन्केतियाले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
चेल्सीको प्रशिक्षकमा ग्राहम पोटर
थोमस युचेललाई बर्खास्त गरेको दोस्रो दिन नै चेल्सीले ब्राइटनका प्रशिक्षक ग्राहम पोटरलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । युरोपियन च्याम्पियन्स लिगमा डाइनामो जग्रेबसँग १–० ले पराजित भएपछि चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
चेल्सीले ब्राइटनलाई ‘रिलिज क्लज’ तिर्ने भएपछि ४७ वर्षीय पोटर स्टाम्फोर्ड ब्रिज आउन तयार भए । चेल्सीले पोटरसँग पाँच वर्षको सम्झौता गरेको छ । पोटरको नेतृत्वमा चेल्सी शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ ।