डायस्पोरा

अल्डरसटमा सहारा यूकेको १५औँ च्यारिटी डिनर, ज्ञाम गुरुङलाई ‘सहारा स्पेशल अवार्ड’

लन्डन । बेलायतमा नेपाली खेलकुद र सामाजिक सेवाका क्षेत्रमा सक्रिय संस्था सहारा यूकेले आफ्नो १५औँ वार्षिक च्यारिटी डिनर नाइट भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, शुभेच्छुक, प्रायोजक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

नेपालमा आयोजना हुने आहा ! रारा गोल्डकपको सञ्चालन तथा पोखरास्थित सहारा एकेडेमीमा आश्रित बालबालिकाको पालनपोषण र शिक्षामा सहयोग गर्दै आएको संस्थाले अक्षयकोष स्थापनाको उद्देश्यसहित च्यारिटी डिनर आयोजना गरेको हो।

लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव संजोग राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सहारा यूकेकी अध्यक्ष शारदा गुरुङले गरेकी थिइन्। कार्यक्रममा संस्थाको योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गर्नुका साथै नयाँ सदस्यलाई स्वागत गरिएको थियो। प्रायोजक तथा सहयोगदातालाई पनि कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले आफू बाल्यकालदेखि नै फुटबलप्रति रुचि राख्ने व्यक्ति भएको उल्लेख गर्दै सहारा यूकेको गतिविधिबाट प्रभावित भएको बताए। आहा ! रारा गोल्डकपमार्फत नेपाली फुटबलको विकासमा संस्थाले पुर्‍याएको योगदान र सामाजिक सेवाका गतिविधि प्रशंसनीय रहेको उनको भनाइ थियो।

सहारा यूकेले स्थापनाकालदेखि निरन्तर सञ्चालन गर्दै आएका परोपकारी कार्य अन्य संघसंस्था तथा समुदायका लागि समेत अनुकरणीय रहेको राईले बताए।

कार्यक्रमकी अध्यक्ष शारदा गुरुङले उपस्थित अतिथि, प्रायोजक, सहयोगदाता तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरिन्। उनले सहारा यूकेले बेलायत र नेपालमा खेलकुदको प्रवर्द्धनसँगै पोखरास्थित सहारा एकेडेमीमा रहेका ३० जना असहाय बालबालिकाको हेरचाह, शिक्षादीक्षा र भविष्य निर्माणमा सहयोग गर्दै आएको जानकारी दिइन्।

यसका अतिरिक्त मातृभूमिमा आइपर्ने विभिन्न विपद् तथा आपत्कालीन परिस्थितिमा पनि संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनले बताइन्।

कार्यक्रम संयोजकसमेत रहेका सहारा यूकेका उपाध्यक्ष क्याप्टेन पितम्बर गुरुङले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि प्रमुख अतिथि संजोग राई र अध्यक्ष शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरे। उद्घाटनपछि नेपाल र बेलायतका राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो।

कार्यक्रमको महत्वपूर्ण आकर्षणका रूपमा सहारा यूकेले प्रदान गर्दै आएको वार्षिक सम्मान तथा अवार्ड वितरण समारोह रहेको थियो। अवार्ड संयोजक एवं संस्थाका पूर्वअध्यक्ष लेफ्टिनेन्ट कुसाङ गुरुङले यस वर्षका अवार्ड विजेताको नाम सार्वजनिक गरेका थिए।

संस्थाको विकास र गतिविधिमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने ‘सहारा यूके अवार्ड’ यस वर्ष सल्लाहकार अमृत गुरुङले प्राप्त गरे। त्यस्तै, संस्थाका अर्का सल्लाहकार ज्ञाम गुरुङलाई ‘सहारा स्पेशल अवार्ड’ प्रदान गरियो।

अवार्ड वितरणका क्रममा दुवै सम्मानित व्यक्तित्वको जीवनयात्रा, सामाजिक संलग्नता तथा संस्थामा पुर्‍याएको योगदान समेटिएका भिडियो बायोग्राफीसमेत प्रदर्शन गरिएको थियो।

औपचारिक कार्यक्रमपछि सांस्कृतिक तथा मनोरञ्जनात्मक सत्र सञ्चालन गरिएको थियो। नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय प्रिया गुरुङ र पवित्र गुरुङले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको गायनले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।

सूर्य गुरुङले सञ्चालन गरेको राफल ड्र कार्यक्रम पनि च्यारिटी डिनरको अर्को आकर्षण बनेको थियो। राफल ड्रका प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः लामा ज्वेलर्स, रमेश घले तथा पानस रेस्टुरेन्टका सञ्चालक विमल गुरुङले प्रायोजन गरेका थिए।

राफल ड्र सम्पन्न भएपछि कलाकारद्वयको सांगीतिक प्रस्तुतिमा सहभागीहरू अबेरसम्म नाचगान गर्दै रमाएका थिए।

कार्यक्रममा सहभागी हुन आएका नेपाली दूतावासका प्रतिनिधि, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह तथा उनकी धर्मपत्नी लगायत विशिष्ट अतिथिलाई हल प्रवेशअघि संस्थाका अध्यक्ष, पूर्वअध्यक्ष र सल्लाहकारहरूले स्वागत गरेका थिए। अतिथिहरूलाई पाइपरको धुनसहित हलभित्र प्रवेश गराइएको थियो।

कार्यक्रमको सुरुवातमा स्थानीय कलाकार शान्ति गुरुङ र प्यारी गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए। संस्थाका महासचिव प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गर्दै सहभागीलाई स्वास्थ्य तथा सुरक्षासम्बन्धी आवश्यक जानकारी दिएका थिए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता