२७ फाल्गुन २०८२, बुधबार
Follow Us

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई परिचयपत्र व्यवस्था गर्न संसदमा माग

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७९, बुधबार १४:४५

काठमाडौं । नेकपा एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै डा. पाठकले यस्तो माग गरेका हुन् । 

सांसद पाठकले भने, ‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तजहरु बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गएको देखिन्छ । र, पुस्तौदेखि त्यहाँ बसोबास गरेको भेटिन्छ । जसलाई पिपुल अफ नेप्लिज ओरिजन भनिन्छ । 

तत् देशमा लामो प्रयासपछि ती देशमा उनीहरुले राष्ट्रिय परिचय पत्र अर्थात् त्यहाँका नागरिक सरहको परिचपत्र प्राप्त गर्नुभएको छ । उक्त परिचयपत्रमा गोरखा नेपाली लेखिएको छ, जसले उहाँहरुको ओरिजन नेपाली हो भन्ने कुरा पुष्टि गर्छ । 

ती ठाउँमा रहेका नेपाली मूलका विदेशी नागरिकहरुले नेपालको सामाजिक रितिरिवाज, परम्परा, मूल्य र मान्यतालाई जोगाइ राख्नु भएको छ । आफ्ना सन्ततिहरुलाई मातृभूमिका प्रेम र स्नेह जागृत गराउनका लागि नेपाली भाषामा पोख्त बनाउनु भएको छ । 

मन–मनमा नेपाल छ भनेर बसिरहेका नागरिकहरु आफ्नो मातृभूमिसँग जोडिन चाहिरहेका छन् । जसका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई व्यवस्था गरेजस्तै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको परिचयपत्र प्राप्त गर्नु उहाँहरुको प्रमुख माग रहेको छ । मातृभूमिप्रति जोडिन चाहने भावनालाई सम्मान गर्दै पिएनओलाई पनि एनआरएनएले प्राप्त गर्ने परिचयपत्र व्यवस्था गर्न नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानकर्षण गराउन चाहन्छु । 

यो व्यवस्थाले निसन्देह नेपालको आर्थिक क्षेत्रमा योगदान पुग्ने छ ।’ 

धेरै पढिएको