२४ भाद्र २०८२, मंगलवार
Follow Us

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७९, सोमबार ०५:२४

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाइएको छ । साथै टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसीलाई कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एयर इन्डियाका चालक दललाई थप कारबाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयको हवाई सुरक्षा विभागलाई पत्राचार समेत गरिएको छ ।

एउटै उचाइमा दुईवटा जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान गर्न विमानस्थल टावरमा कार्यरत तीन जना एटीसीलाई समेत कारबाही गरिएको उनले बताए । दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ ।

तर सोभन्दा कम दूरीमा दुई जहाज होल्ड भएपछि हवाई क्षेत्रको सेफ्टी र सेक्युरिटीप्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले बताए ।

एयर इन्डियाको जहाज १५ हजार फिटमा आइसकेको जानकारी एकैचोटि एटीसीले राडरमार्फत पाएका थिए । दुईवटा जहाजको दूरी एकदम नजिक भएपछि निगमको जहाज चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल एयरलाइन्सको जहाज सात हजार फिटमा झरेको थियो ।

सो समयमा दुईवटै जहाजमा गरी ३५० यात्रु सवार थिए । यसअघि गत फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोक्किनबाट बचेका थिए । सो घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोगिएको थियो ।

धेरै पढिएको