२३ भाद्र २०८२, सोमबार
Follow Us

चन्द्र ढकालले समाले नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७९, बिहीबार १२:२५

काठमाडौं। चन्द्रप्रसाद ढकाल नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष बनेका छन्। बिधानको ब्यवस्था अनुसार, बरिष्ठ उपाध्यक्ष रहेका ढकाल आजबाट अध्यक्ष भएका हुन्।

अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण गराएका हुन्। अब गोल्छा निवर्तमान अध्यक्ष बनेका छन्।

ढकालले बरिष्ठ अध्यक्षमा भएको सर्वसम्मत सहमतिका लागि प्रदेश र केन्द्रीय सदस्यलाई आभार प्रकट गरेका छन्। सर्वसम्मतिको लागि दुवै वरिष्ठ उपाध्यक्षको उदार सोचले सम्भव भएको उनले बताए।

निजीक्षेत्रको योगदानका बावजूद यसलाई हेर्ने दृष्टिकोण राम्रो नरहेको र आम दृष्टिकोण परिवर्तन गर्ने उनले विश्वास दिलाए।

अध्यक्ष बनेपछि ढकालले आइतबार २ बजे नयाँ कार्यसमितिको बैठक डाकेका छन्।

ढकालको ठाउँमा अन्जन श्रेष्ठ आएका छन्। उमेशलाल श्रेष्ठले छाडिदिएपछि अन्जन सर्वसम्मत बरिष्ठ उपाध्यक्ष बनेका हुन्।

चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन्। दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ।

विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन्।

त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन्। हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन्।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ।

ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ। यसअन्तर्गत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन्।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन्।

रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ ।

सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन्।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो।

अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन्।

धेरै पढिएको