९ मंसिर २०८२, मंगलवार
Follow Us

अनलाइनमा जुवा खेलाउने पाँच जना पक्राउ

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८०, बुधबार १५:०७

काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका छन् । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टे बाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम सङ्कलन गर्ने र क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले काठमाडौँ उपत्यकाका मैजुबहाल, मध्यपुर थिमि, सानो भर्‍याङ र बुद्धनगर लगायत स्थानबाट त्यस्तो गतिविधि गर्ने गिरोहका ५ जनालाई मङ्गलवार गरेको थियो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयअनुसार कैलालीको लम्की चुहा नगरपालिका १० घर भई हाल काठमाडौँको चाबहिल बस्ने २९ वर्षीय दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताल लगायतको नाममा विभिन्न ६३ वटा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्ट भएर कारोबार गरेका छन् । उनले मात्रै ती खातामार्फत ६४ करोड रुपैयाँको कारोबार गरेका छन् ।

प्रहरीले खड्कासहित काभ्रे पाँचखाल घर भई हाल चाबहिल बस्ने २८ वर्षीय अनिता धिताल, भक्तपुरको मध्यपुर थिमि बस्ने २७ वर्षीय दीपेश श्रेष्ठ, कञ्चनपुर घर भई पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई हाल नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धान थालेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले जानकारी दिए ।

उनीहरूले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको प्रहरीको दाबी छ । आशिषले तीन करोडको कारोबार गरेका छन् भने दीपेशले पाँच करोड ५४ लाखको कारोबार गरेका छन् । अनिताले आफ्नो मोबाइलमा बाइनेन्स खाता खोली यूएसडी डलर किन्ने गरेको भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका चेक बुक १४ थान, एटिएम ५ थान र राउटर २ थान गरी जम्मा ३४ थान सामग्रीहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्नरगराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँमा पठाइएको छ ।

धेरै पढिएको