काठमाडौँ । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा ४९ अर्ब रुपैयाँ घाटामा रहेको निगमले यो आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ नाफा गरेको हो । सञ्चित मुनाफा घाटामै रहे पनि निगमले गत वर्षको तुलनामा यो वर्ष नाफा गरेको हो ।
पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन, चुहावट तथा फजुल खर्च नियन्त्रण गरेका कारण निगमले उक्त नाफा गर्न सफल भएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । ‘मूल्य स्थिरीकरण कोष, सञ्चय कोष सबै रित्तिएको अवस्था थियो । चुनौती धेरै थिए ।’ थानीले भने, ‘निगममा हुने फजुल खर्च नियन्त्रण र मूल्य समायोजनलाई विशेष प्राथमिकतामा राखेर काम गरेँ । त्यसैले नै यो स्थितिमा आएको हो । बाँकी दायित्व पनि छिट्टै चुक्ता गर्छौँ ।’ थानीले १५ महिनाअघि आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।
नाफामा जान थालेको निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई तेल खरिद गरे बापतको सबै बक्यौता रकम चुक्ता गरेको छ । आइओसीको करिव २४ अर्ब रुपैयाँ बक्यौता निगमले चुक्ता गरेको हो । अघिल्लो वर्ष घाटामा रहेका कारण आइओसीको बक्यौता करिव २४ अर्ब रुपैयाँ पुगेको थियो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पश्चात् १५ दिनमा एक अर्ब नाफा देखिएको छ । बक्यौता चुक्ता गरेपछि पेट्रोलियम पदार्थको मूल्य समायोजनमा पनि सहज भएको उनले बताए । ‘विगतमा निगमले प्रतिलिटरमा २०/२५ रुपैयाँ बढेर आउँदा पनि लिटरमा ५/७ रुपैयाँ बढाउने गरेको थियो ।’ ठाकुरले भने, ‘यस कारण पनि निगम घाटामा गएको थियो ।’