काठमाडौं । झन्डै एक वर्षपछि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकका लागि नेपाली कांग्रेसले अहिलेसम्म एजेन्डा तय गर्न सकेको छैन । बैठकका एजेन्डा तय गर्ने विषयमा पदाधिकारीबीच नै मतभेद छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते बस्दै छ । यसअघि हिजोका लागि बोलाइएको बैठक स्थगित भएको थियो । बैठकको मिति नजिक आइसक्दा पनि पदाधिकारीको बैठकले एजेन्डा तय गर्न नसकेको हो ।
एजेन्डाका विषयमा सभापति शेरबहादुर देउवा र महामन्त्रीहरु गगन थापन तथा विश्वप्रकाश शर्माबीच मत बाझिएको छ । सभापति देउवाले नक्कली भुटानी शरणार्थी प्रकरण, सत्ता गठबन्धन, सरकारले गरेका कामको प्रभावकारिताको विषय बैठकमा प्रवेश गर्न चाहेका छैनन् । तर, महामन्त्री थापा र शर्मालगायतका युवा नेता भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको विषय छलफलको एजेन्डा बनाउन चाहेका छन् ।
संस्थापन पक्षले भने गत वर्ष सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा, सत्ता गठबन्धनको औचित्य, सरकारको प्रभावकारितादेखि नीति अधिवेशनको मिति तोक्ने विषयमा छलफल हुनुपर्ने पक्षमा देखिन्छ ।
सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत कांग्रेसभित्र असतुष्टि छ । यसबारे बैठकमा छलफल हुने अपेक्षा केन्द्रीय सदस्यहरुले गरेका छन् । त्यसैगरी पार्टी महाधिवेशन सम्पन्न भएको डेढ वर्ष वितिसक्दासमेत भ्रातृ तथा शुभेच्छुक संस्था र विभागले पूर्णता दिन नसकेकोमा बैठकमा छलफलको विषय बन्ने बताइएको छ ।
त्यस्तै सभापति देउवाको कार्यशैलीको पनि आलोचना गर्ने तयारी केही नेताले गरेका छन् ।