१८ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएनए विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८०, शुक्रबार ११:५१

काठमाडौं । परराष्ट्रमन्त्री एन पी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिनुभएको छ ।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा शुक्रबार (भाद्र ८ गते) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गर्नुभएको थियो ।

लगत्तै परराष्ट्रमन्त्री एन.पी साउदले उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको हो । गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा रहँदै आएको छ ।

भेटका क्रममा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, पूवं सल्लाहकार टी बि कार्की, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, एनआरएन डेभलप्मेन्ट फण्डका सिइओ अनलराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

धेरै पढिएको