काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएको स्रोतले जानकारी दिएको छ ।
१ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त गराईको स्रोतले जानकारी दिएको छ ।
स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैले जानकारी दिएका छन ।
स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका पनि उनले जानकारी दिएका छन । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् ।
कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।
१३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ ।
प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत रहेका थिए ।