१८ भाद्र २०८२, बुधबार
Follow Us

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी बिटुबी सम्झौता

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८१, बिहीबार १२:१७

काठमाडौं । दोस्रो चरणको पाइपलाइन विस्तारका लागि नेपाल आयल निगम (एनओसी) र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच ‘बिटुबी’ सम्झौता भएको छ।

बिहिबार दिल्लीमा आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

समारोहमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ।

यस्तै, अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। ती आयोजनाको कुल लागत रु १५ अर्ब बराबर रहेको निगमले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो।

धेरै पढिएको