१४ भाद्र २०८२, शनिबार
Follow Us

बेलायतमा पहिलोपटक ‘श्रीमद्भागवत कथा’ प्रारम्भ (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८२, मंगलवार २१:०४

लण्डन । बेलायतमा पहिलो पटक श्रीमद्भागवत कथा समारोह भव्य रुपमा प्रारम्भ भएको छ। धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा साउथलस्थित विश्व हिन्दू मन्दिरमा मंगलवारदेखि सुरु भएको उक्त समारोहको उद्घाटन संयुक्त रूपमा दीप प्रज्वलन गरेर बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र पण्डित कुवेर सुवेदीले गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत घिमिरेले नेपालमै पवित्र धार्मिक परम्पराका रूपमा परिचित श्रीमद्भागवत कथा आज बेलायतमा प्रतिध्वनित हुनु गर्वको विषय भएको बताए। उनले भने, “श्रीमद्भागवत कथाले नेपाललाई पवित्र भूमि भनेर संसारभर चिनाएको छ, आज यो कथा बेलायतसम्म गुन्जिनु स्वयंमा महत्वपूर्ण अवसर हो। घर–घरमा, जन–जनसम्म यसको वाणी पुग्न सकोस् भन्ने मेरो कामना छ।”

राजदूत घिमिरेले नेपाल सरकार तथा दूतावासको तर्फबाट आयोजकलाई धन्यवाद ज्ञापन गर्दै बेलायतमा यस्तो भव्य धार्मिक कार्यक्रम आयोजना गर्न कठिन भए पनि भगवानको कृपाले सम्भव भएको बताए। “श्रीभगवानकै आशीर्वादका कारण हामी यहाँ भेला भएका हौं। राम्रो काम सधैं भगवानकै इच्छाले मात्र सम्भव हुन्छ, र सत्कर्मीलाई भगवानले सधैं साथ दिनुहुन्छ,” उनले भने।

पण्डित कुवेर सुवेदीले नेपालको धर्मदर्शन फाउन्डेशनको तर्फबाट बेलायतमा पवित्र भूमि निर्माण गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरे। उनले श्रीमद्भागवत कथाको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै भागवत कथा आध्यात्मिक यात्राको मार्गदर्शन भएको बताए । कथा सप्ताह आगामी १२ अगस्टदेखि १८ अगस्टसम्म दैनिक सञ्चालन हुनेछ।

पहिलो दिनको कथा वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो। पण्डित चिरञ्जीवी ढकाल र निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए। श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर आयोजना गरिएको यस कार्यक्रम प्रत्येक दिन साँझ ४ देखि ६:३० बजेसम्म सञ्चालन हुनेछ।

आगामी १६ अगस्टमा श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने धर्मदर्शन फाउन्डेशनले जनाएको छ।

धेरै पढिएको