लण्डन । नेपालब्रिटेन डट कमले वर्षकै उत्कृष्ठ सामाजिक संस्थाको रुपमा चार भन्ज्याङ तमु समाज यूकेलाई सम्मान गरेको छ । वेलायतबाट संचालित सो अनलाइनले १८ औं वार्षिकोत्सवको अवसरमा आइतवार सो सम्मान प्रदान गरेको हो ।
चार भन्ज्याङ तमु समाज यू.के. गैर–राजनीतिक, गैर–धार्मिक, बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एक स्वतन्त्र संस्था हो। पर्वत जिल्ला फलेवास नगरपालिका अन्तर्गतका ठानामौला, भंगरा र महाशिला गाउँपालिका अन्तर्गत लामे र दाद्रा गाउँबाट बेलायतका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका गुरुङहरूले परम्परागत पालन गर्दै आएका मौलिक रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्न, साथै सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक, शैक्षिक तथा बौद्धिक विकासका लागि अपरिहार्य एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकाले ई.सं. २७ मे २००७ (वि.सं. २०६४) सालमा चार भन्ज्याङ तमु समाज यू.के. को स्थापना भएको हो।
चार भन्ज्याङ तमु समाजका सबै जनशक्तिहरूलाई एकीकृत गर्ने, पारस्परिक सहयोग, समझदारी र भावनात्मक एकता कायम गर्ने, युवापुस्तालाई समाज र देश विकासप्रति उत्प्रेरित गर्ने, चार भन्ज्याङ क्षेत्र विकास परियोजनाका मूल उद्देश्यहरू — शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र वातावरण — तथा चौतर्फी विकास गर्न विभिन्न उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग सम्बन्ध कायम गर्ने कार्य गर्दै आएको छ।
विदेशस्थित चन्दा दाताहरूको सहयोगबाट २००३ सालमा नयाँ स्कुल भवन निर्माण गरी २००८ देखि श्री जन ज्योति उच्च माध्यमिक विद्यालय (१०+२) सञ्चालन गरिरहेको छ। २०२१ सालमा श्री चिसापानी देवी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण गरी आधारभूत स्तरको पढाइ सञ्चालनमा सहयोग पुर्याइरहेको छ भने अन्य प्राविधिक सहयोग निरन्तर छ। चार भन्ज्याङ क्षेत्रका विद्यालयहरूमा सुरक्षा तारका बार, विभिन्न शैक्षिक सामग्री र छात्रवृत्ति वितरणका कामहरू भइरहेका छन्।
नोभेम्बर २०११ मा चार भन्ज्याङ स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण गरी अप्रिल २०१३ देखि अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट टेलिमेडिसिन स्वास्थ्य सेवा निःशुल्क परीक्षण, परामर्श र औषधि वितरण गरिरहेको छ। यस क्लिनिकमा हाल ५ जना कर्मचारी कार्यरत छन् र एक्स–रे, रगत परीक्षण, ईसीजी जस्ता सुविधा उपलब्ध छन्। यहाँ पर्वत, बागलुङ, स्याङ्जा, कास्की, लम्जुङ, हुम्ला, जुम्लाबाट विभिन्न रोगीहरू उपचारका लागि आउने गर्छन्। हालसम्म यस क्लिनिकले ३७,००० भन्दा बढी बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ। यस क्लिनिकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकहरूले विभिन्न स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेका छन्।
धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा रहेका यी सुन्दर गाउँहरू अत्यन्त रमणीय र ऊर्जाशील छन्। यी गाउँहरूलाई विभिन्न जातजाति बीचको गहिरो पारिवारिक तथा भावनात्मक सम्बन्ध, रीतिरिवाज र संस्कारले अझ धनी बनाएको छ। बज्रमार देवी मन्दिर, चिसापानी देवी मन्दिर, कोटको भूमे जस्ता शक्तिपीठहरू र लामे गाउँमा रहेको १०० वर्ष पुरानो ऐतिहासिक बौद्ध गुम्बा यी गाउँहरूको शक्ति र एकताको केन्द्र हुन्। फलामखानी डाँडा फलामको खानी हो, _*यस फलामखानि डाडा र छाम्मेथुम डाँडा बाट सम्पुर्ण हिमालहरु, चार भन्ज्याङ गाउँहरू र कास्की–स्याङ्जाका बस्तीहरू देख्न *_सकिन्छ। यसै क्षेत्रमा पर्ने एसियाकै सबैभन्दा ठूलो ढुङ्गा “महाशिला” महाशिला गाउँपालिका अन्तर्गत पर्दछ। पर्यटन विकासका लागि स्थानीय आमा समूहलाई प्रोत्साहित गर्दै होमस्टे अवधारणा सुरु गरिएको छ। विदेशमा रहेका चार भन्ज्याङेहरूले आफू बसोबास गर्ने देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक ल्याउने कार्य गरिरहेका छन्। यस क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ।
मौसमी हिसाबले चिस्यानयुक्त र भौगोलिक हिसाबले लेख–बेसीमा अवस्थित यो क्षेत्र अत्यन्त उर्वरशिला छ। स्थानीय जनता र विदेशस्थित व्यक्तिहरूको संयुक्त लगानीमा फलफूल, तरकारी तथा अन्न उत्पादन गरी देशका विभिन्न स्थानहरूमा निर्यात गर्ने र स्थानीय रोजगारी बढाउने उद्देश्यले कृषि विकास गरिएको छ। कृषि विज्ञहरूबाट सम्भाव्यताको अध्ययन सम्पन्न भई प्रतिवेदन तयार भइसकेको छ। फेब्रुअरी २०२७ मा पर्बत जिल्लाको खाल्टे गाउँमा पहिलो पटक चार भन्ज्याङ कृषि मेला आयोजना गर्न लागिएको छ, जसले कृषि पर्यटन (Agrotourism) लाई प्रवर्द्धन गर्नेछ।
हाल वातावरण संरक्षण अन्तर्गत साना–साना योजनाहरूअन्तर्गत सफासफाइ, दिशा–मुक्त क्षेत्र, खोलामा विष वा करेन्ट लगाएर माछा मार्न निषेध, वन–बिरुवा काट्न प्रतिबन्ध, वृक्षारोपण, वन तथा खेतमा आगो लगाउन निषेध जस्ता कामहरू संस्थाको पहलमा भइरहेका छन्।
यस बाहेक, संस्थाले विपन्नहरूको उद्धार तथा स्वास्थ्य उपचार खर्च, देशमा आउने प्राकृतिक विपत्ति (बाढी–पहिरो, भूकम्प, आगलागी) मा उद्धारकार्यका लागि दूतावास, एनआरएन, तमुधी यू.के. लगायतका निकायहरूसँग सहकार्य गर्दै आएको छ। त्यसैगरी, नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन यू.के. का संस्थाहरूसँग नजिक भएर काम गरिरहेको छ।
संसारभरि छरिएर बसेका चार भन्ज्याङ तमु समाजका सदस्यहरूलाई एकीकृत गरी गाउँघर र देशको विकासका लागि स्रोत–साधन जुटाउन २०१५ सालदेखि चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति स्थापना गरिएको हो। यस संस्थाको सचिवालय भवन पोखरामा अवस्थित छ। हाल यसमा चार भन्ज्याङ तमु समाज काठमाडौं, पोखरा, रुपन्देही, हङकङ, युके, युरोपियन युनियन र जापान गरी जम्मा ७ वटा शाखाहरू रहेका छन्।