लन्डन – बेलायतमा क्रियाशील गल्कोट समाज यूकेले सोमबार बर्मिङहमको वेष्ट ब्रोमिचस्थित आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनमार्फत नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। अधिवेशनले विष्णु चालिसेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। चालिसे समाज स्थापनाकालदेखि नै सक्रिय अभियन्ता रहँदै आएका हुन्। संस्थापक उपाध्यक्षको हैसियतमा सुरुवात गरेका उनले महासचिव र सल्लाहकारजस्ता पदमा समेत योगदान पुर्याइसकेका छन्। एनआरएनए यूकेका पूर्व सचिव र आइसीसी सदस्यसमेत रहेका उनले नटिङहम नेपाली समाज र साझा नेपाली समाज यूकेमा पनि नेतृत्व तथा प्रमुख जिम्मेवारी सम्हालिसकेका छन्।
नवनिर्वाचित समितिमा उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्। गोबिन्दराम कंडेल महासचिव, राजु सापकोटा सचिव, सिता खरेल कोषाध्यक्ष र तेज भण्डारी सह–कोषाध्यक्ष बनेका छन्। कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम, लक्ष्मी खरेल गैरे, विनोद थापा, नागेन्द्र खड्का, बम नेपाली, अर्जुन चालिसे, पुष्प दत्त उप्रेती, दीपक खड्का र हरि सिंह थापा निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक गंगा गौतमले नयाँ पदाधिकारीलाई शपथ दिलाएका थिए भने समितिमा लिला बहादुर थापा र डिलाराम गौतम सदस्यको भूमिकामा रहेका थिए।
अध्यक्ष निर्वाचित भएपछि चालिसेले समाजलाई अझ बलियो, एकताबद्ध र समावेशी बनाएर अघि बढाउने प्रतिवद्धता जनाए। उनले बेलायतमा मात्र नभई विश्वभर रहेका गल्कोटेलीलाई एउटै मञ्चमा ल्याउन पहल गर्ने योजना रहेको पनि बताए।
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष रेशम बुढाथोकी, पूर्वअध्यक्षहरु राजु कंडेल, भोजराज कंडेललगायतले बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। निवर्तमान अध्यक्ष चन्द्र साहनीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमिति, सल्लाहकार र सदस्यप्रति आभार प्रकट गर्दै नयाँ नेतृत्वलाई आवश्यक सहयोग गर्न तत्पर रहने बताए।
यसअघि अधिवेशनको पहिलो सत्र निवर्तमान अध्यक्ष साहनीकै अध्यक्षतामा सम्पन्न भएको थियो। महासचिव कृष्ण खरेलले संचालन गरेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष बुढाथोकीले शुभकामना मन्तव्य दिएका थिए। सो अवसरमा महासचिव खरेलले प्रस्तुत गरेको संस्थाको प्रगतिविवरणलाई सभाले अनुमोदन गरेको थियो।
अधिवेशनमा लन्डन, मिडल्यान्ड र स्कटल्याण्डका विभिन्न स्थानबाट आएका पूर्वअध्यक्ष, पदाधिकारी, सल्लाहकार र सदस्य गरी करिब पाँच दर्जनभन्दा बढी गल्कोटेलीको उत्साहपूर्ण सहभागिता रहेको थियो।