लन्डन– श्रृजनशील लेष्टर नेपाल यूकेमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ। लेष्टरस्थित एभरेष्ट परिकार रेष्टुरेन्टमा सोमबार सम्पन्न संस्थाको नवौं अधिवेशनले युवा सामाजिक अभियन्ता शिव पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टिकाराम गौतम, महासचिवमा वरुण भण्डारी, कोषाध्यक्षमा हरि महर्जन, सचिवमा कृष्ण कंडेल र माया खरेल तथा सहकोषाध्यक्षमा रिता डोटेल चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा अनिलकुमार गैरे, जीवन पौडेल, सुरेन्द्र रुपाखेती, कुमारप्रसाद तिमिल्सिना, श्याम खत्री, गोमा घिमिरे, भोजराज भट्टराई, विमल सापकोटा, विष्णु निउरे र जीवन पुडासैनी निर्वाचित भएका छन्। १७ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।
निर्वाचन समितिका संयोजक नारायण फुयांलले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए। समितिमा पूर्व अध्यक्ष बलराम चापागाईं र सल्लाहकार डा मिलन ज्ञवाली सदस्य थिए। यस अवसरमा एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, साझा नेपाली समाज यूकेका पूर्व अध्यक्ष रणबहादुर केसी र महेश अधिकारी, शान्ति नेपाली समाजका पूर्व अध्यक्ष कोशलेश्वर ढकाल, कोभेन्ट्री लायन्स क्लब अध्यक्ष गोविन्द सापकोटा, एनआरएनए यूके सचिव कला पोखरेललगायतले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए।
यसअघि संस्थाका निवर्तमान समितिका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो। सो सत्रमा प्रमुख अतिथि एवम् संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्षहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, बलराम चापागाईं, नारायण फुयांललगायतले शुभकामना मन्तव्य दिएका थिए। महासचिव शिव पराजुलीले सञ्चालन गरेको सत्रमा उपाध्यक्ष टिकाराम गौतमले स्वागत मन्तव्य दिएका थिए। उक्त अवसरमा कोषाध्यक्ष मधु पौडेलको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्यालको सामाजिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो। त्यस्तै विधान संशोधन समितिका संयोजक दयानिधि सापकोटाले प्रस्तुत गरेको प्रस्ताव समेत छलफलपछि पारित भएको थियो।
नयाँ कार्यसमितिको निर्वाचनसँगै संस्थाको नेतृत्व युवा सामाजिक अभियन्ता शिव पराजुलीको काँधमा आएको छ। उनी यसअघि संस्थामा महासचिव र सचिवको जिम्मेवारीमा रहिसकेका थिए। विभिन्न संस्थामा आबद्ध रहेर सामाजिक रुपमा सक्रिय रहेका पराजुली एनआरएनए यूके, साझा नेपाली समाज यूकेलगायतका संस्थामा सल्लाहकारसमेत रहेका छन्। नेपालमा बुटवल मणिग्रामका पराजुली १६ वर्षअघि अध्ययनका लागि बेलायत आएका हुन्। पेशाले आइटी इञ्जिनियर उनी अनलाइन व्यवसायमा संलग्न उद्यमी समेत हुन्।
अध्यक्ष पराजुलीले संस्थामा युवा सहभागिता बढाउने, कमीकमजोरी सच्याउँदै संस्थागत प्रणाली विकास गर्ने, संस्थालाई डिजिटलाइज गर्ने, नयाँ सोचका साथ अघि बढाउने तथा चुस्त र स्फूर्त ढंगले संस्था सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै संस्थाको आफ्नै घर र लेष्टरमा नेपाली मन्दिर स्थापना प्रोजेक्टलाई प्राथमिकताका साथ अघि बढाउने अठोट समेत व्यक्त गरेका छन्। आफूलाई सर्वसम्मत रुपमा नेतृत्व प्रदान गरेकोमा समाजका अग्रज तथा सबै सदस्यलाई धन्यवाद दिँदै उनले सबैको भावना समेटेर संस्थाको हितमा सक्दो योगदान दिने प्रतिबद्धता जनाएका छन्।
सन् २००९ मा स्थापित श्रृजनशील लेष्टर नेपाल यूके बेलायतको लेष्टर क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्था हो। संस्थाले विभिन्न पर्व तथा अवसरमा सांस्कृतिक कार्यक्रम तथा परोपकारी कार्य गर्दै आएको छ।