१९ भाद्र २०८२, बिहीबार
Follow Us

एमालेको दोस्रो विधान महाधिवेशनः प्रतिनिधिबाट शुल्क नलिने

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८२, बुधबार १३:१५

काठमाडौँ । सत्ता घटक दल एमालेको आगामी २० भदौबाट सुरु हुने दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट एमालेले कुनै शुल्क नलिने भएको छ । यसअघि निश्चित शुल्क लिएको एमालेले यो पटक शुल्क नलिने निर्णय गरेको हो ।

विधान महाधिवेशनमा सहभागी हुन प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शङ्कर पोखरेलको बताएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्याललमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासचिव पोखरेलले यसबारे जानकारी गराएका हुन ।

उनले भने, ‘विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ, ‘पार्टी केन्द्रबाटै खर्चको व्यवस्थापन हुन्छ ।’ तर कति खर्च लाग्छ भन्ने अहिले नै अनुमान नभएको पोखरेलले बताए ।

‘खर्च कति लाग्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ । अधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गर्ने नै छौँ’, उनले भने– ‘स्वाभाविक रूपमा पनि वैधानिक पार्टी भएकाले कति खर्च लाग्यो हिसाब किताब गरिहाल्छौँ ।’

नेपाली राजनीतिमा खर्चको पारदर्शी हिसाब राख्ने पार्टी एमाले नै भएको दाबी समेत पोखरेलले गरे । प्रतिनिधिहरूलाई खानाको व्यवस्था कार्यक्रम अवधिभर पार्टीले गर्ने भए पनि आवासको व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएकाले शुल्क नलिने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

धेरै पढिएको