लण्डन । चर्चित व्यवसायी तथा नियात्रा लेखक जीवा लामिछानेले आफ्नो फेसबुक खाता बन्द गरेका छन्। साहित्य, यात्रा, व्यापार, इतिहासदेखि अन्तरराष्ट्रिय राजनीतिक विषयमा नियमित अभिव्यक्ति राख्दै आएका उनले सेप्टेम्बर १ तारिखदेखि फेसबुक डिएक्टिभेट गरेको जानकारी दिएका हुन्।
“मैले केही समयका लागि फेसबुक बन्द गरेको छु,” लामिछानेले भने, “त्यहाँ धेरै समय खर्च भइरहेको महसुस भयो, लगभग लतजस्तै। अब बिना फेसबुक कस्तो अनुभव हुन्छ भनेर हेर्न चाहन्छु।”
विश्वभर फैलिएका नेपाली समुदायबीच लोकप्रिय रहेका लामिछानेका हजारौँ नियमित फलोअर छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोग सधैँ सकारात्मक नहुने उनको धारणा छ।
सफल व्यवसायी तथा लेखक लामिछाने जर्मनीमा बस्दै आएका गैरआवासीय नेपाली हुन्। साहित्यमा गहिरो अभिरुचि राख्ने उनले तीन नियात्रा कृति – ‘सर्सर्ती संसार’, ‘देश देशावर’ र ‘अक्षत अन्टार्कटिका’ प्रकाशित गरिसकेका छन्।