२२ भाद्र २०८२, आईतवार
Follow Us

इजरायली सेनाद्वारा गाजा शहरमा रहेको अग्लो भवन ध्वस्त

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०८२, आईतवार ०५:०१

इजरायली सेनाले गाजा शहरमा रहेको एउटा अग्लो भवन ध्वस्त पारेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समा भवन भत्किएको भिडिओ सार्वजनिक गरेका हुन् । इजरायलले ठूलो टावरलाई लगातार दोस्रो दिन निसाना बनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायल रक्षा बल आईडीएफले हमासले सुसी टावर प्रयोग गरिरहेको दाबी गरेको छ । हमासले भने यो कुरा अस्वीकार गर्दै आएको छ । यो आक्रमणमा कुनै हताहत भएको छ कि छैन भन्ने कुरा स्पष्ट भएको छैन ।

शनिबारको हमलाअघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपिल गरिएका पर्चा खसालेको थियो । सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त हुने दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा राखिएको भिडिओमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुसाताहा टावर ठूलो विस्फोटपछि ढलेको देखिएको थियो ।

शनिबार मात्रै इजरायली सेनाले गाजा स्ट्रिपको दक्षिणी भागमा नयाँ मानवतावादी क्षेत्रको घोषणा गरेको छ । यो कदम गाजा सिटी कब्जा गर्नका लागि योजना बनाइएको सैन्य अपरेसनको तयारी स्वरूप लिइएको हो ।

सन् २०२३ मा हामासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा एक हजार २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने करिब २५० जना बन्धक बनाइएका थिए । सो घटनापछि इजरायलले गाजामा शुरु गरेको आक्रमणमा हालसम्म ६४ हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र एक लाख ६१ हजार भन्दा बढी घाइते भएका छन् ।

धेरै पढिएको