काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ जिब्रो छेड्ने जात्रा हुँदैछ ।
जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट सात बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् ।
यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गर्ने बताइएको छ । वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु बालकुमारीस्थित थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको छ ।
मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा दुईदिन जिब्रो छेडने जात्रा मनाइन्छ ।