बैतडी । अन्नपात नहुँदा भोकभोकै आमाको किरियामा बसेका मुकेश भुललाई सहयोग जुटेको छ। किरियापुत्री ५ दिनदेखि भोकभोकै बसेको बारेमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो।
दशरथ चन्द नगरपालिका–४, बाडिलेकका ३० वर्षीय भुल आमाको किरियामा भोकभोकै बसेको समाचार प्रकाशित भएपछि पूर्वसचिव भीम उपाध्यायको अगुवाइमा खाद्यान्न र लत्ताकपडाका लागि आर्थिक सहयोग जुटेको छ। आइतबार किरियापुत्रीलाई खाद्यान्न, लत्ताकपडा र भाँडा वितरण गरिएको हो।
किरियापुत्रीको घरमा खानेपानीको धारा र शौचालयसमेत छैन। मनकारीबाट खाद्यान्न, लत्ताकपडा र पानीको धाराका लागि ६८ हजार रुपियाँ बराबरको सहयोग जुटेको पूर्वसचिव भीम उपाध्यायले बताए । मनकारीले खाद्यान्न दिएपछि आइतबार खाना खाएको किरियापुत्री मुकेशले बताए । उनले पानीको धारा र शौचालयका लागि अझै रकम अपुग भएकाले मनकारीसँग थप सहयोगको याचना गरे ।
किरियापुत्री मुकेश सुस्त मनस्थितिका भएकाले खाता खोल्न लगाएर सङ्कलन भएको रकम बैङ्कमा जम्मा गर्न पहल भएको स्थानीय राजुराम भुलले बताए । मुकेशकी ७५ वर्षीय आमा किडी भुलको यही भदौ १७ गते निधन भएको थियो। मृतक किडीले मागेरै गुजारा गर्दै आएकी थिइन ।
मृत्युपछि सद्गतिका लागि छिमेकीले दशरथ चन्द नगरपालिकाको सहयोगमा ट्क्याक्टर उपलब्ध गराई महाकाली किनारको शेरामा दाहसंस्कार गरिएको थियो। भुललाई नेपाल सरकारले बस्नका लागि जनता आवासको घर बनाइदिएको थियो। शौचालय र पानीको धारा जोड्ने आर्थिक हैसियत नहुँदा जीवनभरि छिमेकीसँग पानी मागेर खाएकी थिइन ।
बाडिलेकको मुक्त हलिया बस्तीमा आफू जस्तै अधिकांश हलियाको घरमा खानेपानीको धारा नभएको किरियापुत्री मुकेश भुलले बताए । मुकेश भुल सुस्त मनस्थितिको भएकाले आमाको सहारामा थिएनन् ।