२५ भाद्र २०८२, बुधबार
Follow Us

पुनर्निर्माणमा एनआरएनए सरकारसँग सहकार्य गर्ने

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८२, बुधबार १९:५१

विगतका तिक्तता र आपसी मतभेद छोडेर सहकार्य गर्न एनआरएनएको आह्वान

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य गर्न असन्तुष्ट पक्षलाई आह्वान गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले बुधवार साँझ जारी गरेको विज्ञप्तिमार्फत संकटको यस घडीमा विश्वभर रहेका गैरआवासीय नेपालीलाई एकता, सहकार्य र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित अघि बढ्न आग्रह गरेका छन्।

विज्ञप्तिमा २०२५ सेप्टेम्बर ८ र ९ मा काठमाडौँसहित देशका विभिन्न स्थानमा ‘जेन जेड’ पुस्ताद्वारा आयोजित प्रदर्शन र त्यसपछिको असामान्य परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

प्रदर्शनका क्रममा र त्यसपछि सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटले संघ स्तब्ध भएको जनाइएको छ। बालुवाटारस्थित संघको मुख्य सचिवालय र संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ।

गैरआवासीय नेपालीले नेपालमा गरेको ठूलो लगानीप्रति संघले जोड दिँदै, यस्ता घटनाले नेपालमा लगानी गर्न इच्छुक नेपाली र विदेशी लगानीकर्तालाई समेत निराश बनाएको बताइएको छ। प्रदर्शनका क्रममा ३० युवाको दुःखद निधन र १ हजारभन्दा बढी घाइते भएको समाचारले विश्वभरका नेपाली समुदायलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

डा. केसीले युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्वलाई सकारात्मक रूपमा लिने बताए। मुलुक सरकारविहीन अवस्थामा पुगेको यो परिस्थितिको शीघ्र समाधानसहित सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्न तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकार हनन नहुने गरी परिणाममुखी संवादमार्फत निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा संकटको घडीमा मुलुकमा स्थायित्व र सामान्य स्थिति कायम गर्न राज्यका सबै निकायको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ। संघले आफ्ना संरचना र सदस्यलाई यथासम्भव योगदान दिन आग्रह गर्दै मुलुकको समग्र पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

यसै सन्दर्भमा, २०२५ अक्टोबर ११ देखि १४ का लागि तय गरिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनलाई आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको छ। नयाँ मितिमा हुने ‘बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन’ मा सहभागी हुन सबै पक्षलाई आमन्त्रण गरिएको छ।

धेरै पढिएको