२७ भाद्र २०८२, शुक्रबार
Follow Us

गगन थापाको सन्देश (भिडियो)

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८२, शुक्रबार ०६:२७

गगनले भने: जेन–जीले चाहेजस्तै सरकार बन्छ, वातावरण बनाइदिन संवादमा छौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको तत्कालीन राजनीतिक निकासका लागि नेपाली कांग्रेस हर सम्भव प्रयास गरिरहेको बताएका छन्। शुक्रबार भिडिओ वक्तव्यमार्फत पार्टीलाई सम्बोधन गर्दै गगनले यस्तो बताएका छन्।

‘हामी सबै पक्षसँग संवाद गरिरहेका छौं। सम्माननीय राष्ट्रपतिलगायत अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं,’ गगनले भने, ‘हामी आन्दोलनकारी साथीहरूसँग पनि कुन न कुनै माध्यमबाट पुग्ने कोसिस गरिरहेका छौं, कुनै न कुनै पहल भइरहेको छ।’ कांग्रेस जेन–जी आन्दोलनकारीले जे काम राखेका छन् त्यो माग सम्मानसहित सम्बोधन गरेर मात्रै अगाडि बढ्न सकिने कुरामा प्रस्ट रहेको उनले बताए।

‘अन्तरिम सरकार बन्ने कुरा छ। सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँले छानेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस तयार मात्र होइन, त्यसका लागि वातावरण बनाइदिने कुरामा रहेको छ,’ उनले भने।

त्यसै सरकारले अगाडिका काम निर्वाचन, घटनाका छानबिन, क्षतिको पुनर्निर्माणको नेतृत्व गर्ने गगनले बताए। उनले भने, ‘तर, एउटै कुरा छ, यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं। किनकि २०७२ले दिएको संविधान जोगिएन भने स्थायी समाधान हुँदैन,’ उनले भने। संविधानबाहिर जाँदा बाटै सजिलो नभएको उनले बताए।

‘यति धेरै भत्किएको छ, कसैले कल्पना पनि गरेको छैन,’ गगनले भने। संविधानकै दायरामा रहेर अन्तरिम सरकार बनाउनेदेखि २०४६ यताका पदाधिकारीको छानबिन गर्ने, अख्तियारको पुनर्नियुक्ति गर्नेलगायतमा पहलकदमी गरिरहेको उनले बताए।

धेरै पढिएको