काठमाडौं । प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको तयारी गरेका छन् ।
जेन–जी आन्दोलनकारीको मागअनुसार अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रतिनिधिसभा भंग गरेका थिए ।
त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै ठूला तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रले संसद विघटनको विरोध गरिसकेका छन् । संविधानभित्रैबाट निकास खोज्नुपर्ने आफूहरुको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा विघटन गरिएको उनीहरुको भनाइ छ ।
एमालेका एक नेताका अनुसार दलहरुबीत आन्तरिक र सर्वपक्षीय छलफल गरी प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको तयारी भएको छ । ‘गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको छ’, उनले भने, ‘हामी छलफल गरेर आन्दोलनमा उत्रने तयारीमा छौं ।’
गैरसंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास तीनै दलको छ । यसैबीच नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनको निन्दा गर्दै आजैदेखि देशभर आन्दोलनमा उत्रने तयारी गरेको छ ।