काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
नेपाली टिममा रोहित कुमार पौडेल कप्तान, दीपेन्द्र सिंह ऐरी उपकप्तान, कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल रहेका छन् । यस्तै आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम पनि टोलीमा समेटिएका छन ।
सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ । नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी–२० सिरिज खेल्न लागेको हो । ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग श्रृखला खेल्न लागेको हो ।
वेस्ट इन्डिजसँग श्रृखला खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।