काठमाडौं । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले जेन–जी आन्दोलनकारीलाई ताकीताकी टाउकामा गोली हान्ने आफू आफू र सरकारले नदिएको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै ओलीले आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले नभई घुसपैठ गर्ने षड्यन्त्रकारीले गोली चलाएको दाबी गरे । प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलाइएको उनको भनाइ थियो । आन्दोलनका आह्वानकर्ताले नै घुसपैठ भएको भनेको ओलीले बताए ।
‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो’, ओलीले भने, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’ ओलीले गोली कसले चलाएको थियो भन्नेबारे छानबिनको माग गरेका छन् । आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबार जलाइएको नेपालको नक्सा जलाइएको र देशको निशानी मेटाउन खोजिएको टिप्पणी ओलीले गरे ।
जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको भन्दै ओलीेले यसका पछाडिको षड्यन्त्रबारे आफूले अहिले धेरै कुरा नभन्ने र समयले आफैं बयान दिने उनको भनाइ थियो ।