९ कार्तिक २०८२, आईतवार
Follow Us

कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन हुँदैन्ः प्रचण्ड

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८२, बुधबार १२:२९

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन नहुने बताएका छन ।

अध्यक्ष प्रचण्डले यदि एकता नभएमा आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने प्रष्ट परेका छन । आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा जानकारी गराएका थिए । त्यसक्रममा विभिन्न दलहरुसँग पार्टी एकताको प्रयास पनि भइरहेको उनले बताएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेकपा माओवादीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पार्टी एकताको प्रयासमा छलफल चलाइरहेको स्रोत बताउँछ । बैठक स्रोतले भन्यो, ‘महाधिवेशनअघि कसैसँग पार्टी एकता भइहालेमा चिज अर्कै ढंगले जान्छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।’

प्रचण्डको यो अभिव्यक्तिले पार्टी महाधिवेशन आगामी मंसिरमै हुन्छ कि हुँदैन भन्नेमा शंका पैदा गरेको ती नेताको भनाइ छ । तर बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार आगामी मंसिरमा महाधिवेशन गर्नुअघि अध्यक्ष प्रचण्डले सबै पार्टी कमिटी भंग गर्ने बताएका छन् ।

पार्टी कमिटी भंग भएपछि प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बन्ने उनले बताए । त्यसका लागि माओवादी केन्द्रले असोज ९ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

धेरै पढिएको