१४ आश्विन २०८२, मंगलवार
Follow Us

हार्लोमा दशैँ विशेष कार्यक्रम सम्पन्न, आपतकालीन राहतका लागि दुई हजार पाउण्ड संकलन

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८२, शनिबार २०:१३

हार्लो । हार्लो नेपाली समुदायद्वारा आयोजित भव्य दशैँ विशेष कार्यक्रम हार्लो क्रिकेट क्लबमा सफलता साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रहेका हार्लो क्षेत्रका सांसद क्रिस भिन्स (Chris Vince) ले नेपाली समुदायलाई हार्दिक स्वागत गर्दै एकता र सहभागिताको सन्देश दिनुभयो। युकेमा देखापरिरहेको विभाजनकारी राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता अवाञ्छित सोचाइप्रति सचेत रहन आग्रह गर्नुभयो।

नेपाली गीत–संगीत, नृत्य, भजन, राफल तथा लंगुरबुर्जाको रमाइलो खेलले कार्यक्रमलाई झनै जीवन्त बनाएको थियो। सांस्कृतिक प्रस्तुतिमा सोनिता केसी, रोजलिन रायमाझी, प्रिशा सिम्खडा, रुबी पुडासैनी, सीमा सिम्खडा, ग्रिशा र सलीशा सुदाकर, सदमा काफ्ले, आध्या काफ्ले लगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए।

कार्यक्रममार्फत हार्लो नेपाली समाजले विशेष पहलमा नेपालमा आपतकालीन राहत सहयोगका लागि दुई हजार पाउण्ड संकलन गरिएको घोषणा गरियो। उक्त रकम प्रदीप सिम्खडा र राम रायमाझीको संयोजनमा नेपाल पठाइने जानकारी दिइयो।

सांसद क्रिस भिन्सले आफ्नो सम्बोधनमा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “समाजमा विविधता र एकता आवश्यक छ, विशेषगरी अहिलेको विभाजनकारी राजनीतिक परिवेशमा।” उहाँले नेपाली समुदायप्रति निरन्तर समर्थन र सहकार्य रहने आश्वासन दिनुभयो।

त्यस्तै, एनआरएनए युकेको अध्यक्ष राजेन्द्र पुडासैनीले बेलायती समाजमा नेपालीहरूको समायोजन, एकता र संस्कृतिको संरक्षण महत्वपूर्ण रहेकोमा जोड दिनुभयो। “समुदायबीचको एकताले विदेशमै रहँदा पनि राष्ट्रप्रतिको प्रेम र भावना बलियो बनाउँछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा एनआरएनए युकेको भाषा साहित्य विभाग प्रमुख गोपी सापकोटा सहित हार्लोमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन सुरज पुडासैनीले गर्नुभयो भने सभाध्यक्षता हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले गर्नुभयो।

धेरै पढिएको