नेपाली कांग्रेसले इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिको दुःख व्यक्त गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मौसमजन्य घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
‘भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पुरै देशलाई मर्माहत बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुरलगायतका जिल्लामा भएको मृत्युका घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत सबैको आत्माको शान्ति कामना गर्दै, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।’
थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवीहरूले कांग्रेसले विशेष अपिल पनि गरेको छ। ‘विपद्को यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो,’ विज्ञप्तिमा अगाडि भनिएको छ।
यो कर्तव्यमा अझ ऐक्यबद्ध भएर उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा प्रबल ढंगले सहभागी हुनु सबै राजनैतिक दल, भ्रातृ संस्था, स्थानीय तहमा रहेका जनप्रतिनिधि र स्थानीय स्वयंसेवीलाई पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ।
यस्तै आइतबारै महामन्त्री विश्वप्रकाश शर्माको अगुवाइमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरू सम्मिलित ‘विपद् केन्द्रित विशेष बैठक’ बसेको छ।
बैठकले ‘विपद्सँग जुध्न भ्रातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत कार्य गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
‘ठाउँ ठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेका छन्, थप सक्रियताका लागि नेपाली काँग्रेस अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।