नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्न भनेका छन्।
आफूले कसैलाई पनि फोन गरेर विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न नभनेको तर आफूलाई फोन गरेर सोध्नेहरूलाई भने हस्ताक्षर गर्न भनेको शर्माको भनाइ छ।
विशेष महाधिवेशनले पार्टीलाई कमजोर नबनाउने र यो विधानको व्यवस्थाअनुसार नै भएको उनको भनाइ छ।
‘विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनुहुन्छ भने असोज २४ गतेभित्रै गर्नुस् न,’ महामन्त्री शर्माले मंगलबार एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘किनकी साथीहरूले भन्नुभएको छ- हामी केन्द्रीय कार्यसमितिको बैठक (असोज २६ गते) भन्दा एक दिन अगाडि असोज २५ गते नै हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता गर्न चाहन्छौं। सँगसँगै उभिन चाहनुहुन्छ भने साइत केका लागि पर्खनुहुन्छ?’
उनले ४० प्रतिशतले हस्ताक्षर गरेर केन्द्रीय कार्यसमिति आफैले विशेष महाधिवेशन बोलाए हुन्न भनेर पनि सुझाव दिएको शर्मा बताउँछन्।
‘यो सही सुझाव हो, विधानअनुसार पनि केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्छ, असोज २६ को केन्द्रीय समितिमा यो सुझावबारे पनि छलफल गर्छौं,’ उनले भने, ‘अहिलेको विषम परिस्थितिमा जमेको पोखरीजस्तो बसिरहन चाहन्नौं, उपयुक्त निष्कर्षमा जरूर पुग्नेछौं। तर केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन नचाहेमा के गर्ने? ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले जे मागेको छ, त्यो मागलाई सम्बोधन गर्ने।’
उनले नियमित महाधिवेशन गर्न सक्नु नै सर्वोत्तम विकल्प हुने बताए। नियमित महाधिवेशनले सबै तहले ताजा नेतृत्व पनि पाउनेछ। ‘तलदेखि माथिसम्म युवाहरूको व्यापक सहभागीता बढाउन सक्नेछौं,’ उनले भने।
छोटो समयमा पनि कांग्रेसले नियमित महाधिवेशन गर्न सक्ने उनले बताए। नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने पनि महामन्त्री शर्माको भनाइ छ। उनले आफूहरू बदलिने र बदलिएको समयअनुसार कांग्रेस बदल्ने संकल्प गर्नुपर्ने महामन्त्री शर्माले बताए।