२४ आश्विन २०८२, शुक्रबार
Follow Us

एनआरएनए एकताको लागि ठमेलमा गोप्य बैठक!

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०८२, बिहीबार १९:५३

एकताको स्वागत गर्छौ: प्रवक्ता गौतम

लन्डन । चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत एकताको प्रयास तीव्र बनेको छ।

संघका उच्च स्रोतका अनुसार बिहीबार काठमाडौंको ठमेलस्थित एक होटलमा संघका वर्तमान पदाधिकारी, संस्थापक तथा पूर्वपदाधिकारीबीच गोप्य बैठक सम्पन्न भएको हो। बैठकले एनआरएनए भित्र अब एकता बाहेक कुनै विकल्प नरहेको निष्कर्ष निकाल्दै आगामी अक्टोबर ११ (शनिवार) का दिन एकताको घोषणा गर्न नेतृत्वलाई सुझाव दिएको स्रोतले जनाएको छ।

बैठकमा अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ सहित पूर्वउपाध्यक्षद्वय डिबी क्षेत्री, सोनाम लामा, पूर्वप्रवक्ता जुगल भुर्तेल, संस्थापक महासचिव भिम उदासलगायतको उपस्थिती थियो।

बैठकपछि अध्यक्ष डा. केसीले आफ्नो फेसबुकमार्फत “अक्टोबर ११, गैरआवासीय नेपाली दिवसको अवसरमा संघलाई एकताबद्ध बनाउन प्रतिबद्ध छु” भन्ने सन्देश सार्वजनिक गरेका छन्। स्रोतका अनुसार दुवै पक्षबीच सहमतिका प्रारम्भिक बुँदाहरू गोप्य रूपमा तयार पारिँदै छन्।

एकताको प्रारूप तयार पार्ने जिम्मेवारी पाएका दुवै पक्षका प्रमुख पात्रहरूको नाम गोप्य राखिएको बताइएको छ। बृहत एकता महाधिवेशनतर्फ तयारी भइरहेका बेला केही विरोधी तत्वहरूले अवरोध पुर्‍याउने सम्भावना रहेको आशंकामा गोप्य रूपमा सहमति प्रक्रिया अघि बढाइएको जनाइएको छ।

स्रोतका अनुसार अध्यक्ष डा. केसी र महेश श्रेष्ठबीच सैद्धान्तिक सहमति भइसकेको छ। “देशको अवस्था र संस्थाको बदनाम छवि हेर्दा पनि अब बृहत एकताको विकल्प छैन। जो एकता विरोधी छन्, उनीहरू स्वयम् संस्थाबाट अलग हुनेछन्,” स्रोतले भन्यो।

एनआरएनए श्रेष्ठ पक्षका प्रवक्ता गंगाधर गौतमले पनि संस्थाभित्र एकता अपरिहार्य भएको पुष्टि गरेका छन्। उनका अनुसार, “भावनात्मक एकतामात्र पर्याप्त छैन, कानूनी र वैधानिक जटिलता समेत सम्बोधन गरेरै बृहत एकता हुनुपर्छ।”

गौतमले थपे, “संघका मुद्दा अझै अदालती प्रक्रियामा छन्। त्यसैले मिलेर अघि बढ्नुको विकल्प छैन। हामी सबैको सहअस्तित्व र सम्मानजनक एकताको पक्षमा छौं, त्यस अनुसार हुने एकतालाई हामी स्वागत गर्छौं।”

स्रोतका अनुसार आगामी शनिबार मनाइने एनआरएनएको स्थापना दिवसका कार्यक्रमहरू पनि संयुक्त रूपमा आयोजना गर्ने तयारी भइरहेको छ। संघले पशुपतिनाथ र स्वयम्भूनाथ मन्दिरमा संयुक्त पूजाको कार्यक्रमसमेत तय गरेको छ।

धेरै पढिएको