काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केही सदस्यहरूले युवामैत्री कांग्रेस निर्माणको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
शनिवार बिहान भएको धर्नामा उनीहरूले ‘पार्टी एकता आजको आवश्यकता’, ‘हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर’, ‘परिमार्जन बिनाको महाधिवेशन अमान्य’, ‘नेपाली काँग्रेसको विधान परिवर्तन गर’, ‘युवालाई क्रियाशील विधान संशोधन अनि मात्र अधिवेशन’, ‘कि सरकार कि पार्टी, एक व्यक्ति एक पद’ लगायतका प्लेकार्ड बोकेका थिए ।
धर्ना कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरूले पदाधिकारी र कार्यसम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भूमिकाबाट पार्टीसम्म आफूहरूको धारणा पुगोस् भनेर धर्ना दिएको बताए । उनले पार्टीमा युवा क्रियाशील सदस्यहरूको संख्या ३० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरे । पार्टीमा युवाहरूको प्रवेश सहज नबनाई युवा शब्दको सार्थकता दिन नसक्ने पनि उनले बताए ।
युवामैत्री, चलायमान युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको उनले बताए । सबै तहका निर्वाचनहरूमा कम्तीमा ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक रूपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग पनि उनले राखेका छन् ।
उनले जेन जी आन्दोलनपश्चात् नेपाली कांग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाका लागि कांग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । उनले युवामैत्री कांग्रेस निर्माण गर्न आगामी केन्द्रीय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिए ।
विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधित्वात्मक पदहरू, सबै तहका समिति, संसदीय समिति, पार्टीका विभागमा अनिवार्य रूपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्नुपर्ने माग पनि उनले राखेका छन् ।