बागलुङ । पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांशमा डेंगी संक्रमण देखिएको छ ।
वर्षात् सकिएर मौसम सफा भइरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार जिल्लाभर २ सय ५७ डेंगीका रोगी छन् । सदरमुकामस्थित बागलुङ नगरमा मात्र एकसय ३६ संक्रमित भेटिएको उहाँले बताउनुभयो ।
चिसो बढ्ने बेलामा पनि यसरी संक्रमित देखिएपछि जनस्वास्थ्यको चिन्ता बढेको हो । जिल्लाका सुरक्षा निकायसहितको टोलीले यो नियन्त्रणको खोजी गर्नुभएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले डेंगी संक्रमण रोकथाम गर्न जिल्लाव्यापी पहल गर्ने निर्णय गरेको छ ।
आइतबार बागलुङ नगरपालिकामा पनि डेंगी नियन्त्रणका लागि सरोकारवालाको बैठक बसेको थियो । डेंगी रोगबारे सचेतना फैलाउने र सरसफाइ अभियान सञ्चालन गर्ने दुबै बैठकले निर्णय गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
उहाँले आम नागरिकलाई स्वास्थ्य शिक्षा दिनेगरी छलफल र निर्णय भएको पनि बताउनुभयो । सोमबार बिहानदेखि मुख्यबजार क्षेत्रमा खोज र नष्ट गर भन्ने अभियान चलाउने, त्यसमा प्रहरी, प्रशासन, नगरपालिका, जनप्रतिनिधि, आम नागरिकको सहभागिता गराउने निर्णय भएको हो ।
विद्यालय तहमा स्वास्थ्य शिक्षा दिनेगरी सामग्री तयार गर्ने, मोटरका ग्यारेजसहित घर–घरमा पानी जम्न नदिने, जमेको देखिएमा फाल्ने काम गरिनेछ । घर–घरमा पूजा गर्न राखिएका कलसमा समेत पानी जमेको, छतमा राखिएका गमलामा पानी जमेर डेंगीको लामखुट्टे उत्पादन भएको भेटिएको स्वास्थ्यकर्मीले बताउनुभयो । बैठकमा विद्यालयले पनि शनिबार वा समय मिलाएर सरसफाइ गर्ने, पानी जम्न नदिने र लक्षण देखिएमा तत्काल उपचारमा लैजाने निर्णय भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अधिकृत समिता घिमिरेका अनुसार, हाल संक्रमण भएका २० प्रतिशत मात्र उपचारको दायरामा आएको बताउनुभयो । कतिपय बिरामी भएर घर–घरमा बसेको, समयमा उपचार नपाएको घिमिरेले बताउनुभयो । पहिचान भएर उपचारमा आएकाभन्दा पहिचान नभएका र संक्रमणमा परेर पनि उपचार नभएकाबाट संक्रमण फैलने खतरा रहेको उहाँको भनाइ छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, धौलागिरि आर्युवेदिक अस्पतालका प्रमुख डा. शरद पन्थीले स्वास्थ्य शिक्षालाई बढाएर लैजान सकियो भने डेंगीसहित विपत्का समस्या समाधान गर्न सकिने बताउनुभयो ।
डेंगीबाट बच्न घरमा रहेको पानी छोपेर राख्ने, शरीर ढाकिनेगरी कपडा लगाउने, घरभित्र, कुनाकाप्चामा लामखुट्टे आउन नदिने, लामखुट्टेविरुद्व औषधी छर्कन सरोकारवालाले सुझाउनुभएको छ । अत्याधिक ज्वरो आएमा, जोनी र मांसपेशी दुखेमा, शरीरमा डाबर वा बिबिरा आएमा डेंगी परीक्षण गर्न पनि चिकित्सकको सुझाव छ ।